बैशाख २५, दैलेख । दैलेख सदरमुकामस्थित त्रिभुवन उमाविअगाडिका तीनवटा पसलमा आगलागी हुँदा झन्डै तीन करोड रुपैयाँबराबरको क्षति भएको छ।

आज दिउँसो १ बजे साजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य दुईवटा पसलमा पुगेको थियो। निभाउने प्रयास गरे पनि आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्किएको हो।

आगलागीबाट साजन अटोपार्टसमा भएका सबै सामग्री जलेर नष्ट भएका हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। त्यस्तै, सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पसलमा राखिएका कुनै पनि सामग्री प्रयोगयोग्य छैनन्। सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका सञ्चालक भूपेन्द्र बिसीले बताए।

आगलागलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको छ। क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ।

May 7, 2024
समाज
दैलेखमा आगलागी हुँदा झन्डै तीन करोडको क्षति
By साझासवाल
3 मिनेट पढाइ