असार ७, हेटौंडा। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–११ स्थित थानाभर्याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्तरुपमा खटिएको टोलीले विहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेकाहरुले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर लामो समयदेखि विभिन्न सामानहरु अवैधरुपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नाका भएर भेप नेपाल भित्रिएको देखिन्छ । हामीले आवश्यक कागजपत्र केही नभएपछि थप अनुसन्धानका लागि राजस्व विभाग पथलैया पठाउने भएका छौं ।’, उनका अनुसार तस्कारीमा प्रयोग गरिएको बस नेपाल दिल्ली चल्ने आधिकारिक बस होइन ।

June 21, 2024
समाज
२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित पाँच जना पक्राउ
By साझासवाल
4 मिनेट पढाइ