असार २०, काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेका छन् । उनीहरूको ठगीबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । जीवन कडरियाले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको मैतीदेवीबाट पक्राउ गरेको हो । त्यस्तै, चुडाबहादुर खड्काले तीन जना पीडितलाई दक्षिण कोरिया पठाइदिन्छु भनेर १७ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।

उनलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । दुवैलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी