साउन १७, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका प्रमुख डा सुनील शर्माले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए । उनको अवस्था बुझेपछि खड्कासँगै बाहिरिएका शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए ।

उनले शाक्यको सफल उपचार हुनुले अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भएको प्रतिक्रिया दिए ।

यस्तै अस्पतालकी निर्देशक डा मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन् ।

उनले भनिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’

यसैबिच क्याप्टेन शाक्यलाई घटनाबारे बोल्न नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । सोही कारण शाक्यले आज अस्पतालमै गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको बताइएको छ ।

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

August 1, 2024
समाज
जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई डिस्चार्जको तयारी
By साझासवाल
4 मिनेट पढाइ