पढ्न करिब 2 मिनेट लाग्छ

चैत १३, काठमाडौँ | राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो ।

फोटो पत्रकारिताका क्षेत्रमा लामो योगदान दिइ सेवानिवृत्त रहेका अग्रज व्यक्तित्वलाई रु ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने सो समूहले जनाइएको छ ।

त्यस्तै खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, मोफसल, अनलाइन, स्वतन्त्र र समूहको सक्रिय सदस्य विधामध्येबाट उत्कृष्ट ठहर हुने फोटो पत्रकारलाई रु २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहित वर्ष उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने सो अवसरमा जानकारी दिइयो ।

अवार्डमा सहभागी हुन छापामाध्यममा कम्तीमा एक वर्ष तथा अनलाइनमा छ महिना काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा फोटो पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै समूहले प्रदान गर्ने पुरस्कार छनोट स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई बचाइराख्न सुझाव दिनुभयो ।

सो अवसरमा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले पुरस्कारका लागि रकम जुटाउन निकै चुनौती भए पनि समूहका पदाधिकारीको जोश र जागरले सफल हँुदै आएकोमा खुशी व्यक्त गर्नुभयो । रासस