जीतबहादुर शाह

"आयातित वस्तुले अर्गानिक बस्तुलाई विस्थापित गरे झै आयातित भाषाले मौलिक भाषालाई विस्थापित गर्नु भनेको हामीले कसैको औपनिवेसिकता र दासता स्वीकार गर्नु हो र जन्मदिने आमालाई विर्सनु हो ।"

कार्यमूलक अनुसन्धानकोे प्रस्तुति चलिरहेको थियो । अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने सामुदायिक विद्यालयको एकजना म्याडमले कक्षा ६ को सामाजिक अध्ययन विषय अध्यापन गर्दा आइपरेका समस्या र समाधानका लागि अपनाएका विधिहरुको पोष्टर प्रदर्शनको माध्यमबाट प्रस्तुति गरिन् । उनको प्रस्तुति सुन्दै र हेर्दै गर्दा बोध भयो, उनका विद्यार्थीहरुलाई अङ्ग्रेजी भाषाका शब्दहरुको बारेमा ज्ञान छ्रैन त्यसैले उनीहरुको बोधक्षमता कमजोर छ । यो कुरा थाहा भइसकेपछि सामाजिक अध्ययन विषय अध्यापन गर्ने शिक्षकले विद्यार्थीले नबुझेका शब्दहरुको सूची बनाउछिन्, उच्चारण गर्छिन्, उच्चारण गर्न सिकाउछिन्, ती शब्दहरुको अर्थ पनि बताउछिन्, ती शब्दहरुको आफैले बाक्यमा प्रयोग पनि गर्छिन र विद्यार्थीहरुलाई पनि बाक्यमा प्रयोग गर्न उत्प्रेरित गर्छिन । यसो गर्दा अध्यापन गर्ने विषयमा देखा परेका समस्यामा न्यूनिकरण भएको महसुस गर्छिन उनी । उनको प्रस्तुतिले मलाई भने द्विविधामा पा¥यो । उनले के विषय अध्यापन गरिरहेकी छिन विद्यार्थीहरुलाई ? अङ्ग्रेजी भाषा वा सामाजिक अध्ययन विषय ?

सामाजिक अध्ययन विषय शिक्षणका उद्देश्यहरु उल्लिखित म्याडमले शिक्षणको क्रममा निर्धारण गरेका उद्देश्यहरु भन्दा फरक हुन्छन् । उद्देश्य फरक भएपछि गरिने क्रियाकलापहरु पनि फरक हुन्छन् । उनले त सामाजिक अध्ययन विषय अध्यापन होइन कि अङ्ग्रेजी भाषा अध्यापन गरिरहेकी छिन् । सामाजिक अध्ययन विषयमा त सामाजिक मूल्यमान्यता, रितिरिवाज, धर्म, संस्कृति, संस्कार, राष्ट्रियता, सामाजिक सद्भाव जस्ता कुराहरुलाई केन्द्रविन्दुमा राखेर सिकाइ उपलब्धिहरु निर्धारण गरिएको हुन्छ । सामाजिक अध्ययन विषय यति धेरै ब्यापक छ कि मानिस सामाजिक प्राणी भएको हैसियतले उसँग सम्बन्धित सवै विषयवस्तुहरु यसको क्षेत्र अन्तगर्त पर्दछन । त्यसैले सामाजिक अध्ययन विषयमा भाषा पनि पर्दछ तर भाषा सिकाउने कुरा भने पर्दैन । भाषा सिकाउने कुरा त भाषा विषयमै पर्दछ । बरु भाषालाई सम्मान गर्ने कुरा सामाजिक अध्ययनमा पर्दछ । उनको प्रस्तुति पछि मलाई त यस्तो लाग्यो कि अव त हाम्रा अङ्ग्रेजी माध्यमका विद्यालयहरुले जे जति विषय अध्यापन गरे पनि सारमा अङ्ग्रेजी भाषा मात्रै अध्यापन गर्दछन् ।

भाषा आयोगले आयोजना गरेको एउटा सङ्गोष्ठीमा भाषा आयोगका अध्यक्ष, भाषाविद एवम् शिक्षाविद डा. लबदेव अवस्थीले भाषा सम्बन्धी आफ्ना धारणाहरु राख्दै गर्दा यो पङ्तिकारको मात्र होइन सहभागी सवैको मन स्तब्ध भयो । ‘पहिले पहिले उपनिवेश र साम्राज्यबाद बोइङ र पानीजहाज चढेर आउथ्यो अव त भाषा र संस्कृतिमा अन्तरघुलन भएर आउछ । आयातित वस्तुले अर्गानिक बस्तुलाई विस्थापित गरे झै आयातित भाषाले मौलिक भाषालाई विस्थापित गर्नु भनेको हामीले कसैको औपनिवेसिकता र दासता स्वीकार गर्नु हो र जन्मदिने आमालाई विर्सनु हो ।’ डा. अवस्थी अगाडि भन्दै थिए – ‘म आफै पनि विकट गाउमा जन्मेको मान्छे । मेरो मातृभाषा नेपाली नभइ बैतडेली हो । मेरो पालामा कक्षा ४ देखि अङ्ग्रेजी पढाइ हुन्थ्यो । तथापि मेरो अङ्ग्रेजी ठीकै छ । नेपाली पनि ठीकै छ । अरु भाषा पनि अलि अलि आउछ । भाषा सिक्नका लागि नर्सरी देखि नै घोटाउनु आवश्यक छैन । आजका मान्छेहरुले नर्सरीदेखि मात्र होइन न्वारानदेखि नै अङ्ग्रेजी भाषामा जोड दिएको देख्दा हाम्रो गन्तब्य धुमिल भएको महसुस हुदैछ ।’

डा.अवस्थीलाई नजीकबाट नियाल्नेहरुलाई थाहा छ, उनी नेपाली र अङ्ग्रेजी भाषाका त विज्ञ नै हुन । संस्कृत पनि उनलाई राम्रोसँग आउछ । नेपालका अन्य भाषाहरुको बारेमा पनि उनलाई राम्रोसँग जानकारी छ । भाषाको महत्व र मर्मको बारेमा पनि सम्बेदनशील छन् उनी । त्यसैले मलाइ त लाग्छ भाषा आयोगले गतिलो अध्यक्ष पाएको छ । त्यसैले त डा. अवस्थीको अगुवाइमा भाषा आयोग देशका विभिन्न स्थान र प्रदेशहरुमा गएर नेपालमा बोलिने विभिन्न भाषाहरुलाई कसरी संरक्षण र जगेर्ना गर्ने भन्ने सम्बन्धमा बहसको थालनी गरेर बक्ताहरुका भावनाहरु बुझ्ने काम गरिरहेको छ । यस्तै बहस र सङ्गोष्ठीका माध्यमबाट मानिसहरु बुझ्दैछन कि मानव विकासका लागि बाहिरबाट होइन कि आफैभित्रबाट प्रयत्नहरुको सुरुवात गर्नुपर्दछ, स्थायी रुपमा स्वच्छ पानीको पोखरी बनाउनका लागि पोखरीभित्रै पानीको मुहान आवश्यक भएजस्तै । मानिसको विकास र समुन्नतिका लागि उसका भावनाहरुले यथोचित स्थान पाउने उसकै मातृभाषाको आवश्यकता पर्दछ न कि आयातित भाषाको ।

मातृभाषा र मौलिक भाषाको माथि चर्चा गरिएझै जे जस्तो गरिमा र महत्व भएपनि हाम्रो परिवेश भने फरक छ । हामीले हाम्रो भाषा बोल्नेलाई अपमान र अङ्ग्रेजी भाषा बोल्नेलाई सम्मान गर्ने संस्कारको थालनी गरिसकेका छौं । शिक्षामा गुणस्तरको सूचक नै अङ्ग्रेजी भाषालाई बनाएका छौं । साना नानीहरुलाई उनीहरु अध्ययन गर्ने स्थानलाई इङ्लीस स्पिकिङ जोन भनेर घोषणा गरिएको छ । नेपाली बोल्न वर्जित छ । आमाले सिकाएको मातृभाषाको शब्द उच्चारण ग¥यो भने सजाय हुन्छ । शिक्षालयहरुले आफूलाई यसरी प्रस्तुत गरिरहेका छन् कि आफ्नोमा आउने साना नानीहरुले अव रुने र हाँस्ने काम पनि अङ्ग्रेजी भाषामै गर्नुपर्दछ । आफ्नै देशका विद्यालय र विश्वविद्यालयहरु नेपाली भाषाको पक्षमा छैनन् । होटल, पसल, रेष्टुरेन्ट, सेमिनार, तालिम आदि जहाँ गएपनि नेपाली भाषीहरु अपमानित हुने अवस्था छ । मलाई त यस्तो लाग्छ, एउटी आमा आफैले जन्माएका सन्तानहरुबाट आफ्नै भूमिमा अपमानित भइरहेकी छिन । यसरी आमालाई अपमानित गर्नेहरुको समुन्नति र सन्तुष्ठी सम्भव हुन्छ र ?

भाषा म¥यो भने भाषा सँगसँगै धेरै कुराहरु मर्दारहेछन् । भावना र विचारहरु मर्दारहेछन् । सोच र संस्कारहरु मर्दारहेछन् । सभ्यता र स्वाभिमानहरु पनि मर्दारहेछन् र अन्ततः सत्व र स्वामित्वहरु मर्दारहेछन् । भाषा विचार र आत्मीयताको जगेर्ना गर्ने संवेदनशील माध्यम रहेछ । भाषामा सामिप्यता भएन भने विचार र आत्मीयता पनि मर्दोरहेछ । सम्बन्धहरु समेत चिसिदा रहेछन् । त्यसैले त नयाँ पुस्ताहरु आफ्नै आँगनमा घाम तापेर आफूलाई पर्खिरहेका पुर्खाहरुलाई छाडेर अङ्ग्रेजी भाषा सिकेको नाउमा अङ्ग्रेजी भाषा बोल्ने देशतिर भासिदैछन् । सामाजिक अध्ययन विषय अध्यापन गर्ने म्याडमले समेत घोकाएर होला, उनीहरु अङ्ग्रेजी भाषाका जटिल शब्दहरुको बारेमा समेत जानकारी राख्छन् । त्यसैले उनीहरुको सम्बन्ध र सामिप्यता पनि अङ्ग्रेजी बोल्नेरुसँगै बढ्दो छ र आमाले सिकाएको भाषा बोल्नेहरुसँगको सम्बन्ध क्रमशः चिसिंदो छ । भावनात्मक रुपमा भन्नुपर्दा आमासँगको सम्बन्ध नजानिदो किसिमले चिसिंदोे छ ।

आफ्नै पुर्खाहरुले बोल्दै आएका नेपाली शब्दहरुको बारेमा नयाँ पुस्ताहरु अव अनभिज्ञ छन् । उनीहरुलाई पर्म, चौंठी, जुठेल्नो, झस्केलो, बलेसी, कुम्हली, झरो, करकेटो, पिर्का, फुली, बुलाकी, घलेक, काप्रो, स्याखु आदि शब्दहरु प्रयोग गरेर घरमा आमा, बाबा र बाजे–बज्यैले कुरा गर्नुभयो भने अनौठो मान्छन् र के भनेको हो बुझ्दैनन् । उनीहरुसँग जाँतो, कोल, रत्यौली, बाउसे, सुल्फा, साफी, मैझारो आदिको बारेमा कुरा गरेपनि उनीहरुले नबुझ्ने अवस्था भइसक्यो । उनीहरुले नेपाली भाषा बोलेपनि आधा भन्दा बढी शब्द अङ्ग्रेजी शब्द मिसाएर बोल्छन् । उल्टै उनीहरु नै शुद्ध नेपाली बोल्नेहरुलाई पाखे र असभ्य भनेर सम्बोधन गर्दछन् । यो पङ्तिकारलाई को पाखे र को असभ्य हो, त्यति धेरै त थाहा छैन तथापि संस्कृतिविद र भाषाविदहरुले भनेको एउटा कुरा भने थाहा छ – ‘मान्छेहरुलाई दास बनाउने हो भने उनीहरुलाई हत्कडी र नेलले बाँधेर होइन कि उनीहरुको भाषा, संस्कृति र संस्कारमाथि हस्तक्षेप गर्नुपर्दछ ।’ त्यसैले हामी मालिक बन्ने नाउँमा दास बन्ने बाटोमा लागिरहेका त छैनौं भन्ने भयले गाँजिरहेको छ ।

भलाकुसारीको क्रममा एकदिन फोनमा एकजना म्याडमले आफू अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुरा गर्नुभयो । मैले किन भनेर जिज्ञाशा राख्दा छोरा बाहिर जाँदैछ भन्ने जवाफ दिनु भयो । मैले बधाइ भनें । वहाँले भक्कानिएर भन्नुभयो – ‘मैले मेरो छोरा बिदेशतिर बेच्नका लागि बिमानस्थलरुपि हाटबजारमा उपस्थित भएको महसुस भइरहेको छ । त्यसैले मलाइ बधाइ दिनुपर्दैन सर ।’ वहाँको भनाइले यो पङ्तिकारलाई पनि गम्भीर बनायो । साँच्ची हाम्रो देशले सरकारी एवम् निजी तवरबाट मनग्गे लगानी गरी शिक्षा दिएर अव केही गर्छ कि भनेर आश गर्ने उमेरमा विदेशी भाषा सिकेकै कारण हामी सन्तानहरुलाई विदेश पठाउदैछौं । मेकालेले सन १८३५ मा भारतलाई कालान्तरसम्म पनि कसरी उपनिवेश बनाइराख्ने भन्ने सम्बन्धमा बेलायतको संसदमा पेश गरेको प्रतिबेदनको सारांश यस्तो थियो – ‘हामी उनीहरुलाई रङ्ग र रगतको हिसावले हामीजस्तो बनाउन नसके पनि अङ्ग्रेजी भाषा सिकायौंैं भने उनीहरुको चिन्तन र संस्कार हाम्रो जस्तो बनाउन सक्छौं ।’ इतिहासदेखि हामीले कसैको उपनिवेश स्वीकार गर्नुपरेन भनेर जति गर्व गरेपनि आज हामी मेकालेको डरलाग्दो उपनिवेशभित्र फसिरहेका छौं भन्ने कुरामा कुनै सन्देह देखिदैन ।

घरबाटै सिकेर आएको भाषामा बालबालिकालाई विद्यालयमा शिक्षा दिन सकेमा सिकाइ प्रभावकारी हुन्छ । त्यसो गरेमा बालबालिकालाई विद्यालय पनि घरजस्तै लाग्न थाल्छ । शिक्षा दिने शिक्षकहरु पनि बाबा आमा जस्तै लाग्न थाल्छन् । सिकाइ सुखद, अन्तक्रियात्मक र सिकारुकेन्द्रित पनि हुन्छ । त्यसैले पनि नेपालको कानूनले समेत प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिनुपर्ने कुरालाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको छ । वास्तविकता यस्तो भए पनि हामी भने नर्सरीदेखि पुगेन भनेर न्वारानदेखि नै अङ्ग्रेजी सिकाउने चक्करमा छौं । अङ्ग्रेजी भाषा विषय अध्यापन गर्ने शिक्षकले मात्र होइन कि सामाजिक अध्ययन विषय लगायत जुनसुकै विषय अध्यापन गर्ने शिक्षकले पनि अङ्ग्रेजी भाषा अध्यापन गर्ने होडबाजीमा लागेका छौं । अभिभावकहरु पनि यसैमा मक्ख छन् । अहिले शिक्षित परिवारमा त छोराछोरी विदेश पठाउनु भनेको गर्व गर्ने विषय भएको छ । यो पङ्तिकारलाई भने सन्तानहरुलाई मेकालेको फन्दामा पारेर दास बनाउन थालेको अनुभूति भइरहेको छ र यतिबेला भक्कानिदै छोरालाई विदेश पठाउन अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएकी ती म्याडम लगायत हरेक आमाहरुलाई सम्झिरहेको छु ।

मिति २०७५ साल बैशाख २७ गते विहीबार

May 11, 2018
बर्दिया - BRD, समाज
न्वारानदेखि नै अङ्ग्रेजी ?
By kit
22 मिनेट पढाइ