पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १२, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।

करीब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो ।

शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजीका साथै घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीलाई प्रशिक्षण

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा १३१औँ समूहको ट्राफिक नियन्त्रण प्रशिक्षण आजबाट शुरु भएको छ । तालीममा सैद्धान्तिक र व्यावहारिक ट्राफिक ज्ञान प्रदान गरिने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विशवास गरिएको छ । प्रशिक्षणमा पाँच प्रहरी हवल्दार र ६० प्रहरी जवान गरी ६५ प्रशिक्षार्थीको सहभागिता छ ।