चैत १९, हेटौंडा । प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो । निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो ।
प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।