बैशाख ४, काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ ।
उपत्यकाका ५ हजारभन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको हो ।
समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने भएको जनाएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ ।
समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा सञ्चालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ । सो आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्समा आधारित भएर सेवा सञ्चालन गर्ने समाजले जनाएको छ ।
हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने ‘इजी ट्याक्सी नेपाल’ एप्सको सेवाका लागि यात्रुहरुले सो एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर ‘लग इन’ रजिस्टार बनाइएको छ भने यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।
यात्रुहरुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।
‘इजी ट्याक्सी नेपाल’ एप्समार्फत यात्रुहरुले ‘लग इन’ गरेर अनुरोध गरेको ५ मिनेटभित्रै ट्याक्सी सेवा प्राप्त गर्ने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले बताए ।