पढ्न करिब 2 मिनेट लाग्छ

असोज १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो ।

सरकारले बिहीबारमात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदुत नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

त्यस्तै, बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । अध्यक्ष दाहालनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नियुक्ति विषयमा छलफल नै नगरी एकलौटी गरेका हुन् ।

हालैको सचिवालय र स्थायी कमिटी बैठकका निर्णय एवं निष्कर्षविपरित प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल समूहको आरोप रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।