पढ्न करिब 1 मिनेट लाग्छ

असोज २०, दुबई, (रासस–एएफपी) –– नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।

युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्ला दुई महिनामा दैनिक संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । गत अगष्ट ३ का दिन १६४ जना नयाँ संक्रमित रहेकामा गत शनिबार एकै दिन एक हजार २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुले आम मानिसले सामाजिक दूरी कायम नगरेका कारण संक्रमितको संख्या बढेको बताएका छन् । सरकारले युएईका सातमध्ये कुन इमिरेट्समा सबैभन्दा बढी बिरामी भेटिए भन्ने खुलाएको छैन । मंगलबार एक हजार ६१ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

युएईमा प्रतिव्यक्ति परीक्षण निकै उच्च छ । सरकारले हालसम्म एक करोडभन्दा बढी परीक्षण गरिसकेको जनाएको छ ।