कात्तिक ७, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार दिएको जानकारी अनुसार आजदेखि कात्तिक ११ गतेसम्म कोरोना सम्बन्धि अपडेट दिने नियमित पत्रकार सम्मेलन नहुने जनाएका हुन् । साथै उनले कात्तिक १२ देखि सुचारू हुने पत्रकार सम्मेलन थप परिमार्जन सहित आउने जानकारी दिएका छन् । गौतमले कोभिड –१९ का बारेमा पत्रकार सम्मेलन नभए पनि कोरोना सम्बन्धि अपडेट भने सामाजिक सञ्जालबाट जानकारी गराइने बताएका छन् ।
मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै एक लाख दुई हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।