पढ्न करिब 1 मिनेट लाग्छ

पुस २, काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौँमा कोरोना नियन्त्रणमा नआइसकेकाले हतार गर्न नहुनेमा जोड दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसमसमेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्र खोल्दा राम्रो हुने बताए ।

‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्र ५० हजारको एन्टिजेन टेस्ट गर्ने भनेको छ । यो बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउनू,’ उनले भने ।

बालबालिकाको स्वास्थ्य मापदण्ड आफै पालना गर्न समस्या हुने भन्दै उनले एउटै मापदण्ड बनाउने, खोलेका विद्यालयको अनुगमन गर्ने र स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्ने बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।