पढ्न करिब 1 मिनेट लाग्छ

माघ २, काठमाडौँ | नेपाली जनताका तर्फबाट झन्डै १२ टन मानवीय सहायता बोकेर परराष्ट्र मन्त्रालय नेतृत्वको टोली अफगानिस्तान उडेको छ । लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर हिमालयन एयरलाइन्सको विमान काबुल उडेको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी अन्र्तगत अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाईएको हो । नेपालबाट पठाएको उक्त सामग्री संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत हस्तान्तरण गरिने छ ।

नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाईएको मन्त्री खड्काको दाबी छ । उनले भने, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।”

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे ।