पढ्न करिब 2 मिनेट लाग्छ

साउन १९, काठमाडौं | सरकारले आज आगामी मंसिर ४ गत एकसाथ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन गर्ने घोषणा गरेको छ । नेपालको निर्वाचन इतिहासमा मंसिर महिनामा हुन लागेको यो तेस्रो प्रजातान्त्रिक निर्वाचन हो ।

नेपालमा हालसम्म जति पनि प्रजातन्त्रिक निर्वाचन भएका छन् अधिकांश वैशाख, जेठ र मंसिर महिनामा भएको पाइन्छ । अर्थात यी तीन महिना निर्वाचनको दृष्टिले अनुकुल महिना हुन् ।

मौसम अनुकुल हुनेहुँदा निर्वाचनको लागि वैशाख, जेठ र मंसिर महिना रोजिदै आइएको छ । यति बेला पानी पर्ने सम्भावना कम, दिन धेरै छोटे नहुने र हिमाली क्षेत्रमा चिसो बढीनसक्ने हुँदा निर्वाचनको लागि उपयुत्त मानिदै आइएको छ ।

नेपालमा २००७ सालयता हालसम्म १२ वटा प्रजातान्त्रिक निर्वाचन भएका छन् । अधिकांश निर्वाचनहरु वैशाख, जेठ र मंसिर महिनामा सम्पन्न भएका छन् ।

नेपालमा पहिलो आमनिर्वाचन २०१५ फागुन ७ गते भएको थियो । त्यसपछि २०३७ सालमा राष्ट्रिय जनमतसंग्रह भएको थियो । जनमतसंग्रह वैशाख २० गते भएको थियो ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । उक्त वर्ष वैशाख २९ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो ।

त्यसपछि २०४९ सालमा देशमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सो वर्षको जेठ १५ र १८ गते दुई चरणमा स्थानीय निर्वाचन गरिएको थियो ।

२०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । उक्त वर्ष कात्तिक २९ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । यसपछि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन गरिएको थियो । यस्तै, २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भएको थियो ।

पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न नसकेपछि २०७० मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन गरिएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिएको थियो ।

२०७४ सालको मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकसाथ गरिएको थियो । त्यसपछि २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।

सरकारले आज आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने मिति घोषणा गरेको छ ।