पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर १९, काठमाडौँ | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परिन् । शिवनाथ गाउँपालिका–६ मालुहारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्सिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका हुन् ।

‘अर्कोतिर सम्बन्ध भएको शङ्का लागेर आरोपीले मृतकको मोबाइल खोसेका रहेछन्’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने–‘अनि, सम्झौता गर्न बोलाएर हत्या गरेको देखिन्छ ।’

प्रेमको विषयमा विवाद हुँदा प्रेमिकासँगै आएकी नेहा लुहारलाई पनि भरतरामले आक्रमण गरेर मरणासन्न बनाएका छन् । मङ्सिर १३ मा मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा र माया स्थानीय कुलाउ बजार गएका थिए । बजार गएकी माया मृत फेला परिन् । भरतरामको आक्रमण गम्भीर घाइते भएकी नेहाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।