पढ्न करिब 2 मिनेट लाग्छ

पुस २४, काठमाडौँ | सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो।

शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए।

छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन्। आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए। आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए।

गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए।

स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्याएकाले समयमै उपचार हुन नसकेको उनले बताए।

‘प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौं’, उनले भने, ‘अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्यायौँ तर ढिला भइसकेको रहेछ।’

दुईजना प्रहरी नियन्त्रणमा

प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ। मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो।

डिएसपी वलीले घट्ना सम्बन्धमा छानबिन भइइहेको बताए। ‘विद्यालयले पनि घट्ना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ’, उनले भने।