पढ्न करिब 4 मिनेट लाग्छ

माघ ४, वासिङटन | अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिनुभएको छ । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग गरेपनि विपक्षी डेमोक्र्याटिक पार्टीले त्यसलाई अस्वीकार गरेसँगै राष्ट्रपति र विपक्षी डेमोक्र्याटिक पार्टीबीच विवाद चुलिएको छ । पर्खाल निर्माण बाहेकको बजेट पारित गर्न विपक्षी डेमोक्र्याटिक पार्टी तयार रहेपनि राष्ट्रपति ट्रम्पले पर्खाल सहितको बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राख्नुभएको छ ।

दुबै पक्षको यही अडानका कारण बजेट अभावमा केन्द्रीय स्तरका धेरै सङ्घीय कार्यालयहरु प्रभावित भएका छन् । सङ्घीय कार्यालयहरुमा कार्यरत करिब ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ । झण्डै एक महिनादेखि संघीय जाँच ब्यूरोका एजेन्टहरु, सङ्ग्रहालयका कामदारहरु, अमेरिकी तटीय रक्षादलका कर्मचारीहरु र अरु कर्मचारीलाई घरमै बस्न वा बेतलबी काम गर्न बाध्य पारिएको छ ।

अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै सङ्घीय कार्यालयमा कार्यरत कर्मचारीले विरोध गर्न थालेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको सुरक्षासँग प्रत्यक्ष सरोकार भएकाले मेक्सिको सीमामा पर्खाल निर्माण गर्नुको विकल्प नरहेको बताउँदै आउनुभएको छ ।

तर, विपक्षी डेमोक्र्याटिक पार्टीले पर्खाल निर्माणले आप्रवासन समस्या सुल्झाउन नसकिने बताउँदै आप्रवासीका कारण अमेरिकी सुरक्षामा खतरा नरहेको जनाएको छ ।

राष्ट्रपति र विपक्षी डेमोक्र्याटिक पार्टीबीचको विवाद अब निजी मामिलामा परिणत हुन थालेको छ ।

राष्ट्रपति ट्रम्पले सभामुख न्यान्सी पेलोसीलाई सम्बोधन गरी व्यङ्ग्यात्मक शैलीमा लेख्नुभएको पत्रमा भनिएको छः “ब्रसेल्स, इजिप्ट र अफगानिस्तानको तपाईंको पूर्व निर्धारित भ्रमण स्थगन भएको जानकारी गराउँदा मलाई दुःख लागेको छ ।”

उहाँले अगाडि लेख्नुभएको छ, “यो भ्रमण स्थगन हुनु ठीक होइन भन्ने कुरामा पनि तपाईंले स्वीकार्नु हुनेछ भन्नेमा म विश्वस्त छु । ”

ह्वाइट हाउसले डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन लाग्नुभएका अर्थमन्त्री स्टिभन मन्चिन र अरु पदाधिकारीका यात्राहरु पनि रद्द गरिएको जनाएको छ । ह्वाइट हाउसले सङ्घीय कार्यालयहरु बन्द भएकै अवस्थामा प्रशासनसँग सम्बन्धित व्यक्तिका यात्राहरु ठीक नभएको भनी विपक्षी डेमोक्र्याटिक पार्टीले आवाज उठाएको स्मरण गराएको छ ।

पेलोसी र उहाँको प्रतिनिधिमण्डलले त्यति प्रचारमा नल्याइएको अफगानिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । उनीहरुले अमेरिकी एयर फोर्सको विमानबाट यात्रा गर्ने तयारी थियो । उहाँको कार्यालयले भ्रमण कार्यक्रममा इजिप्ट समावेश नभएको स्पष्ट गरेको छ ।

अमेरिकी कङ्ग्रेसका एक सहयोगीका अनुसार केही सांसदहरु एयर फोर्सको विमानका लागि संसद भवनबाट निस्कनै लाग्दा राष्ट्रपति ट्रम्पले भ्रमण रद्दको जानकारी गराउनुभएको थियो ।

तर, ट्रम्पले सभामुख पेलोसीले गैर सरकारी विमान लिएर विदेश यात्रामा जान सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हो, कुनै व्यावसायिक उडानमा निजी खर्चमा यात्रा गर्ने हो ठीकै छ, सरकारी विमानमा यात्रा सम्भव छैन ।”

सभामुख पेलोसीले जनवरी २९ मा राष्ट्रपति ट्रम्पले हाउस अफ कङ्ग्रेसमा “स्टेट अफ द यूनियन” सम्भाषणको कार्यक्रम रद्द गर्ने सुझाव दिएसँगै राष्ट्रपति ट्रम्पले सरकारी विमान उपलब्ध गराउन अस्वीकार गर्नुभएको छ । पेलोसीले राष्ट्रपति ट्रम्पलाई हाउसमा सम्बोधन नगर्न, बरु ह्वाइट हाउसबाटै सम्बोधन गर्न सुझाव दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिहरुले कङ्ग्रेसमा वार्षिक सम्बोधन गर्ने प्रचलन छ । तर पेलोसीले संसदको फ्लोर नै नदिएपछि राष्ट्रपति ट्रम्प क्रुद्ध हुनुभएको छ ।

राष्ट्रपति ट्रम्पको उक्त कदमको डेमोक्र्याट सांसदहरुले आलोचना गरेका छन् । पूर्व अमेरिकी सैनिक समेत रहेकी कङ्ग्रेस सदस्य इलेन लुरियाले भन्नुभयो, “कङ्ग्रेसको जिम्मेवारी नै निगरानी गर्नु हो, र हाम्रो संवैधानिक कर्तव्यमाथि राष्ट्रपतिले हस्तक्षेप गर्नु विल्कुलै अनुपयुक्त हो ।”

रिपब्लीकन पार्टीका प्रभावशाली सिनेटर लिन्ड्से ग्राहमले सभामुख पेलोसीको अफगानिस्तान, इजिप्ट र नेटोको भ्रमण रोक्नु गलत रहेको बताउनुभएको छ । उहाँले राष्ट्रपति ट्रम्पलाई कङ्ग्रेसमा सम्बोधन गर्न नदिनु र सभामुखलाई विदेश यात्रामा रोक लगाउनु दुबै दोस्रो दर्जाका काम रहेको बताउनुभयो । एएफपी