६ महिनाको अवधिमा ५५ प्रतिशत खर्च केन्द्रभन्दा जिल्ला अगाडि

Posted on: 26 Jan, 2017

ताराबहादुर महत । माघ १३, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधिमा दोलखा जिल्लाले ५५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार ९ सय ६४ रुपैँयामध्ये ३ अर्ब २४ करोड ९१ लाख ३२ हजार ३ सय ३३ रुपैँया ( ७०.६३ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) दोलखाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यसैगरी पुँजिगततर्फ १ अर्ब ३३ करोड ८३ लाख ५८ हजार रुपैँया अख्तियारी पाएकोमा ३४ करोड ७५ लाख ५० हजार ९ सय १२ (२५.९७ प्रतिशत) भएको प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीले बताउनुभयो । गत पौष मसान्तसम्म जिल्लामा चालु र पुँजिगत गरेर कुल बजेटको ५४.७१ प्रतिशत खर्च भएको कोलेनिका दोलखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल सरकारको केन्द्रिय बजेट २६.४२ प्रतिशत मात्र खर्च भएको अवधिमा दोलखाले ५५ प्रतिशत खर्च गर्नु सकरात्मक देखिएको प्रमुख कोष नियन्त्रक शिवाकोटीको भनाई छ ।

यसैबिच जिल्लाका २५ वटा सरकारी कार्यालयले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा २५ करोड ६९ लाख ७ हजार ८ सय ३५ रुपैँया राजस्व संकलन गर्न सफल भएका छन । जसमा सबैभन्दा बढी जिल्ला विकास समितिले १८ करोड ४२ लाख ३६ हजार ९ सय ९० रुपैँया र सबै भन्दा कम शहरी विकास तथा भवन निमार्ण विभागले ३ सय २० रुपैँया राजस्व संकलन गर्न सफल भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!