इलाममा खानेपानी आयोजनाका लागि दुई करोड संकलन

Posted on: 15 Mar, 2018

चैत १, इलाम | शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ । 

एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो । 

खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाउन थालिएको छ । प्रत्येक मिटरबाट रु १५ हजारका दरले रकम संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिनुभयो । 

रु ८५ करोडको पाँच प्रतिशत स्थानीयवासीबाट साथै नगरपालिकाको नगर विकास कोषमार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ । 

उपभोक्ता समितिले रु चार करोडभन्दा माथि रकम संकलन गर्नुपर्ने हुन्छ । बुधबारसम्ममा रु दुई करोड रकम संकलन भएको उहाँले जानकारी दिनुभयो । चाँडो रकम संकलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्ने अध्यक्ष थापाले बताउनुभयो । 

योजना सम्झौता भएको दुई वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको उपभोक्ता समितिका सचिव तिलक ठकुरीले बताउनुभयो । 

खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीन वटा मुहानबाट पानी आपूर्ति गरिने छ । 

हाल पानी अभावका कारण इलाम बजारका बासिन्दा नुहाउन र कपडा धुन धारा वा खोलामा जानुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुनसमेत उपभोक्ता सचेत हुनुपर्ने सचिव ठकुरीको भनाइ छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!