प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ

Posted on: 02 May, 2020

हेमन्त केसी | वैशाख २०, जाजरकोट |  जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन ।  यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन । 

यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्ने नुनको मूल्य  बारेकोटमा प्रतिकेजी रु ६० रहेको पाइएको छ । सदरमुकाममा प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी रु नौमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । 

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ । बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा रु ५० र माथिल्लो भेगतिर रु ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ । सदरमुकाममा रु नौमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताउनुभयो । 

नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताउनुभयो  । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!