२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

३० जेष्ठ २०७६, बिहीबार ०६:२८

हेमन्त केसी जेठ ३०,जाजरकोट | स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ। स्थानीय बासिन्दा यार्साको खोजीमा हिँडेपछि गाउँमा सञ्चालित खानेपानी, बाटो, भवन, सिँचाइलगायत विकासका काम रोकिएका छन् ।

यार्सागुम्बा सङ्कलन गरेर स्थानीयवासी पाटनबाट नआएसम्म विकास निर्माणका काम अगाडि बढ्न मुस्किल भएको नलगाड नगरपालिकाले जनाएको छ । जाजरकोटका सात स्थानीय तहमध्ये पूर्वका स्थानीय तहका विकास निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिकामा विकास निर्माणको काम प्रभावित हुँदा समस्या भएको हो । यार्सा ‘सिजन’ले विकास निर्माणका योजनामा काम गर्ने मजदुर पाइन छाडेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत प्रभावित भएको छ । बेरोजगारको आवेदन दिएका युवा डोल्पामा यार्सागुम्बा टिप्न गएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत छनोटमा समस्या भएको हो । हिउँदमा भारतमा कमाइ गर्न जाने र जेठ र असारमा यार्सा सङ्कलन गर्ने ‘सिजन’हुने भएकाले डोल्पामा विकासका काम न्यून हुने गरेको छ ।

पूर्वका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि माथिका सबै छात्रछात्रा यार्सा टिप्न जाँदा पढाइ प्रभावित भएको वीरेन्द्र ऐश्वर्य माविका शिक्षक कालीप्रसाद थापाले बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयमा विद्यार्थीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । त्यस्तै हिउँदमा मौसमी बसाइँसराइका कारण जिल्ला छाड्ने र सिजनमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीयवासी पाटनमा जाने भएकाले डोल्पाका गाउँ सुनसान मात्र बनेका छैनन्, विकास निर्माणका काम ६० प्रतिशत पनि भएको छैन । जगदुल्ला, भित्रवन, कागमारा, फूलबारी, कुनासा, भोक्पा, भम्पे, डोप्के, माटे, छमकुनी, बासुदा, नाउरे, सागरलगायत पाटन जेठ १३ बाट यार्सा टिप्न खुला गरिएसँगै अहिले हजाराँै स्थानीयवासी अस्थायी मानव बस्ती बनाएर पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । 

युवा यार्सा सङ्कलन गर्न विभिन्न पाटन गएपछि गाउँमा वृद्ध र स–साना बालबालिका मात्र रहेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । बालबालिकासमेत यार्सा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएको उहाँले बताउनुभयो । पाटन नजिकका गाउँका बासिन्दाले पशुचौपाया पाटन क्षेत्रमै लगेका छन् । घरमा ताला लगाएर अधिकांश परिवार यार्सा टिप्न पाटन पुगेको ठुलीभेरी नगरपालिकाका स्थानीय शिक्षक रामबहादुर थापाले बताउनुभयो ।

 विद्यार्थी नआउँदा शिक्षक हाजिर गर्दै घाम तापेर फर्कने गरेको सरस्वती मावि दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६७ विद्यार्थीमध्ये पाँच-सात विद्यार्थी मात्र आउन थालेपछि पठनपाठन रोकिएको छ । अमरसिंह आधारभूत विद्यालय मुहु, हिमज्योति आधारभूत सार्कीटोल, काञ्जिरोवा आधारभूत दापु र तापीरिचा माविमा भने १ कक्षादेखि ३ सम्म मात्र पढाइ भइरहेको छ । 

जिल्लाका ११३ विद्यालयमध्ये १०९ मा शिक्षक र विद्यार्थी नियमित उपस्थित नभएपछि पठनपाठन रोकिएको हो । शिक्षक नै यार्सागुम्बा व्यापारमा पुगेको पाइएको छ । केही शिक्षक नेपालगञ्ज, सुर्खेत र काठमाडाँैमा आफन्त भेट्न पुगेको पाइएको छ । शिक्षा एकाइले जिल्लाका कुनै पनि विद्यालय बन्द नगर्न आग्रह गरे पनि त्यो कुरा कार्यान्वयन हुनसकेको छैन । यहाँका सबै स्थानीय तहमा शिक्षा शाखामा कर्मचारीसमेत नहुँदा काम गर्न समस्या भएको एकाइ प्रमुख सिंहराज डाँगीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत अहिलेसम्म सञ्चालन हुनसकेको छैन । ढुवानी गरेर ल्याएका निर्माणका सामग्रीसमेत बाटोमै अलपत्र परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी