जुम्लामा विज्ञान प्रयोगशाला उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउँदै

Posted on: 11 Oct, 2017

असोज २५, जुम्ला | (रासस) | चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै हुनुहुन्छ । 

उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट ९:३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी जुम्ला पुगेपछि शुरुमा चन्दननाथ भैरवनाथ बाबाको दर्शन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक महतले बताउनुभयो । त्यसपछि १०:३० बजे राष्ट्रपति भण्डारीबाट यहाँको विज्ञान प्रयोगशालाको समुद्घाटन गर्ने कार्य तालिका छ, उहाँले भन्नुभयो । 

राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, बागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले हालसम्म गरेका गतिविधिको प्रदर्शनी अवलोकन गर्ने प्रतिष्ठान (मारी) का निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी जुम्लामा आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । कार्यक्रम डेढघण्टा जतिमात्र हुने उहाँको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!