जुम्लामा प्रदेशकै ठूलो अस्पतालनिर्माण

Posted on: 18 Jan, 2018

माघ ४, जुम्ला । जुम्लामा प्रदेश नम्बर ६ कै ठूलो अस्पताल बनेको छ । 

तीनसय शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । यही माघ १५ गते अस्पताल उद्घाटन गरी गरी उपचार सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश नम्बर ६ कै आधुनिक, पहिलो र ठूलो अस्पताल हो । तीन वर्षमा सो अस्पताल भवन बनाइसक्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको र तोकिएको मितिभित्रै सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार काफ्लेले बताए ।हाल प्रतिष्ठानले सय शैयाको अस्पताल, १७ जना विशेषज्ञ चिकित्सकसहित १ सय ५० जनशक्तिले सेवा दिंदै आएका छन् । 

रजिष्ट्रार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९ सय ३४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए भने जसमा २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया भएको थियो ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान गरिरहेकोे छ । प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरेकोे हो । 

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान अघि बढाएको जानकारी दिए ।उपकुलपति वाग्लेले भने, ‘साविकको कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोट जिल्लामा अनुसन्धान सम्पन्न भइसक्यो, अब प्रतिष्ठानको  कार्यक्षेत्र अन्तर्गत तत्कालिन पिछडिएका ९ जिल्लामा स्वास्थ्य सर्वेक्षण गछौँ ।’ 

प्रतिष्ठानले सबै जिल्लाका स्वास्थ्य अवस्थाको तथ्यांक लिएर त्यसअनुसार उपचार सेवा प्रदान गर्न अनुसन्धान अगाडि बढाउने प्रतिष्ठानले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!