पलाता गाउँपालिकामा जैतुन खेती गरिदैँ

Posted on: 10 Nov, 2017

कात्तिक २४, कालिकोट । जिल्लाको पलाता गाउँपालिका–९ थिर्पुमा जैतुन खेती गरिने भएको छ । 

गाउँपालिका आयोजनामा जिल्ला कृषि विकास कार्यालय सहयोगमा खेतीको तयारी गरिएको हो ।जिल्ला कृषि विकास कार्यालयले यसभन्दा अघि जैतुन खेतीका लागि पलातालाई उपयुक्त ठाउँ भन्दै जैतुन पकेट क्षेत्र निर्माण गर्ने तयारी गरेको थियो ।

जैतुन खेतीबाट किसानहरुले राम्रो आम्दानी लिन सक्ने र गाउँलाई वातावरण अनुकुलको कृषि पेशा अगाल्नका लागि कृषि विकास कार्यालयको सहयोगमा जैतुन खेती गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । 

‘पलाता क्षेत्र जैतुन खेतीका उपयुक्त ठाउँ हो’ उनले भने,‘यसको खेती गरिएका किसानहरुले राम्रो आम्दानी लिन सक्नेछन् ।’

पहिलो चरणमा जैतुनका ८ सय विरुवा रोप्ने तयारी भएको र क्रमशः पलाता गाउँपालिका अन्य ठाउँमा पनि जैतुन खेतीलाई निरन्तरता दिइने जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए । 

‘पहिलो चरणमा पलाता गाउँपालिका वडा नं. ९ थिर्पु गाउँमा ८ सय जैतुनका बिरुवा रोप्ने तयारी गरेका छौं’ उनले भने,‘क्रमशः अन्य वडा र गाउँपालिका नै जैतुन खेती पकेट क्षेत्रका रुपमा विकास गरिने छ ।’

गत बर्ष जिल्ला कृषि कार्यालयले पलाता गाउँपालिकामा कार्यालयबाट कृषि प्राविधिक खटाएर जैतुन खेतीको अध्ययन गरेको त्यसैको आधारमा जिल्लामा पहिलो पटक जैतुन खेतीको तयारी गरिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख सिंहले बताए । 

‘पलाता गाउँपालिकामा गत बर्ष नै जैतुन खेती विस्तारको अध्ययन गरेका थियौं’ उनले भने,‘त्यसैलाई आधार मान्दै यो बर्षदेखि जैतुनका बिरुवा रोप्ने तयारी गरेका छौं ।’जैतुन खेतीका लागि सुख्खा क्षेत्र बढी हुने गरेको छ । पलाता गाउँपालिका पनि कालिकोटको सुख्खा क्षेत्र हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!