हिंसा पीडित महिलाद्वारा सुरक्षित आवासगृहमै आत्महत्या

Posted on: 24 Sep, 2023

असोज ७, कालिकोट | घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोशेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आइतबार विहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भई दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका ५ कट्टी निवासी दानबहादुर शाहीकी पत्नी जैसी ०७९ भदौ १२ गतेदेखि पति शाहीले घर निकाला गरेपछि आफन्तको आश्रयमा बस्दै आएकी र केही दिनदेखि सोशेकको सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्  ।

हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले ०७९ भदौ १२ गते साँझ लट्टीले कुटपिट गर्दा संवेदनशील अङ्गमा गम्भीर चोट लागेको भन्दै घरबाट विस्थापित भई आफन्तको सहयोगमा जिल्ला सदरमुकाम मान्ममा डेरागरी बस्दै आइरहेका थिए  ।

२०७५ सालमा घरमा अर्की पत्नी हुँदाहुँदै  जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेपछि पीडितले एक नाबालक छोरासहित विस्थापित हुनु परेको बताएका थिए।

विस्थापित अवस्थामा रहेकी पीडित महिलाले भदौ ९ गते आफ्ना पति शाहीले सामाजिक सञ्जाल म्यासेन्जर मार्फत, कथित बोक्सी आरोप लगाउँदै छोरा समेत मारिदिन भनेपछि डेराबाट  राति भागेर नेपालगन्ज पुगेकी थिन् ।

नेपालगञ्जमा प्रहरीले भेटाएपछि कालिकोट पुगेपछि सोशेकको आश्रयमा बसेको बेला थप तनावमा  आत्महत्या गरेको हुनसक्ने उनका आफन्तले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!