भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on: 28 Sep, 2019

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन ।

भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको दिन, घरघरमा वैदिक विधिले दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत भोली बिहान १०: ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । भोलीको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले भोलीको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । 

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । भोली स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । 

यस पटक असोज २१ गते मङ्गलबार विजयादशमी परेको छ । २१ गते बिहान ८: ४५ बजे देवी विसर्जन गरेपछि १०: ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । धेरैजसो शैक्षिक संस्थाले घटस्थापनाका दिनदेखि दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।

पहिलो दिन

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । घटस्थापनाको उत्तम साइत बिहान १०: ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

दोस्रो दिन

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

तेस्रो दिन

तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।

चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

पाँचौ दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

छैटौँ दिन

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने छ ।

सातौँ दिन

नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

आठौँ दिन

महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

नवौं दिन

घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!