अर्ग्यानिक तरकारी उत्पादनमा महिला

Posted on: 08 Jun, 2017


जेठ २५, कञ्चनपुर । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । 

एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासायनिक मलको प्रयोग नगरिकनै घरमै तयार पारिएको जैविक मल र वनस्पतिको झोलको प्रयोग गरी लौका, फर्सी, तीतेकरेला, काँक्रा, भिन्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्न थालेका छन् । 

आइपिएम पाठशालाबाट दक्ष बनेका महिलाले घरमै उत्पादन हुने फोहरजन्य पदार्थको व्यवस्थापन गरेर र गोवरमलबाट प्राङ्गारिक मल बनाउने सीपको प्रयोग गरी तरकारीको उत्पादकत्वमा वृद्धि गरेका छन् । 

प्राङ्गारिक मलको प्रयोगले हुने फाइदा बारे स्थानीयवासीलाई सचेत गर्दै आएकाले रासायनिक मलको प्रयोग गर्दै आएका स्थानीयवासीले घरमै प्रयोग हुने मलको प्रयोग गर्न थालेको फूलबारी आइपिएम पाठशालमा सहभागि अनिता रानाले बताउनुभयो । 

“शत्रुजीवको व्यवस्थापन र मित्रजीवको संरक्षण गर्दा बालीलाई टेवा पुगेको छ”, उहाँले भन्नु भयो । 

तरकारी बालीमा लाग्ने किरा नियन्त्रण गर्न गाउँघरमै प्रशस्त पाइने वनस्पतिको झोल तयार गरी विषादीको सट्टा प्रयोग गर्न थालेकाले स्वास्थ्य र पैसाको बचत भएको उहाााको भनाइ छ । 

पाठशालाका सहभागी भागो राना बजारमा अग्र्यानिक तरकारीको मूल्य र माग बढिरहेको बताउनुहुन्छ । यहाँका महिलाले बेमौसमी र मौसमी तरकारी उत्पादन गरी वार्षिक रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । 

महिलाले अग्र्यानिक तरिकाबाट उत्पादन गरिएको तरकारी बिक्री गर्न बेलौरी बजारमा आइपिएम अग्र्यानिक पसलसमेत सञ्चालन गरेका छन् । सो पसलबाट दैनिक दुई क्विन्टलसम्म तरकारी बिक्री हँुदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!