नौ हजार परिवारलाई खानेपानी योजना

Posted on: 19 Feb, 2019

फागुन ७, काभे्रपलाञ्चोक । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । 

कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । सरकारको ९० तथा स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा आयोजना बन्न लागेको हो । विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरभित्र सक्ने लक्ष्य छ । 

उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थन, चापाखोरी र मेच्छेका बासिन्दा लाभान्वित हुनेछन् । आयोजनाको नदीमा फिल्टर गर्ने चार ट्याङ्की तथा तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको लिफ्टििङका लागि १३ पम्पले पानी तान्नेछन् । ती पम्पले रिजर्भ ट्याङ्कीमा प्रतिसेकेण्ड २३ लिटर पानी तान्ने अध्यक्ष लामाले बताउनभुयो । आयोजनाको खानेपानी विस्तारका लागि २३ ट्याङ्की, ११ सुरक्षागार्ड घर, एउटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । 

तेमाल गाउँपालिका–५ का हेमलाल तामाङले पानीकै कारण ‘तेमालमा छोरी दिनुहुन्न’ भन्ने पुरानो समस्या बृहत् खानेपानी आयोजनाले टर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले घरघरमै खानेपानी पाउँदा खुशी पनि छौँ ।” उहाँले भूकम्पपश्चात् खानेपानी समस्याकै कारण विस्थापित हुनुपर्ने अवस्था आइसकेको सुनाउनुभयो । सो गाउँका बासिन्दा अहिले पनि दुई घण्टाको पैदल दूरीबाट कुवाको पानी लिन बिहानैदेखि पालो कुर्नुपर्ने बाध्यता छ । कुवामा दिनहुँ लामो लाइन लाग्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!