पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

Posted on: 15 Aug, 2018

साउन ३०, नवलपरासी | पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हँुदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् । 

दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । 

सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्थामा पनि निकै असहज हुने अवस्था छ । यसैगरी सडक बिग्रिएकै कारण पर्याप्त मात्रामा पहाडी क्षेत्रमा खाद्यान्न ढुवानीमा समेत समस्या देखा परेको छ । 

पहाडी क्षेत्रको दलदले–बुलिङटार सडकखण्डअन्तर्गत रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका पहाडी क्षेत्रमा अविरल वर्षापछि सडक बिग्रिएका छन् । 

यसैगरी कालीगण्डकी कोरिडोरअन्तर्गतको पहाडी क्षेत्रका विभिन्न स्थानमा सडक बिग्रिएका छन् । पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएकै कारण पहाडी क्षेत्रका यात्रा निकै जोखिमपूर्ण र कष्टकर बन्ने गरेको पाइन्छ । 

कालीण्डकी कोरिडोर मुख्य स्थान गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना तरङ्गखोला सिमाना बिग्रिएको छ । यसबाहेक अन्य धैरे स्थानमा सडक बिग्रिएको छ । 

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जाने सडकखण्ड दलदले–बुलिङ्टार र कालीगण्डकी कोरिडोर सडकखण्ड गरी दुई वटामात्र वैकल्पिक सडक मार्ग हुन् । जुन अधिकांश सडक पक्की नहुँदा वर्षाको समयमा सडक बिग्रिने हुँदा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य हुने गरेको अवस्था छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!