मङ्सिर २०, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् ।
शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्, भने विद्यालयमा तालाबन्दी गरेका छन् ।
कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेपछि बालिकाको शरीरमा रातो डाम (धब्बा) बसेको छ ।
बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् ।
घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडाध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको स्थानीयले बताएका छन् ।
स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताएका छन् ।
पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन् ।
उनी हिँड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावकको भनाइ रहेको छ ।
‘म आफन्तकोमा गएकी थिएँ, श्रीमान् पनि हुनुहुन्थिएन्, गाउँलेले भनेर थाहा पाएँ, सरले घरमै आएर छोरीलाई पिट्नुभएछ, अनि सम्झाएर स्कुल लगेर फेरि यादवले कोठा बन्द गरेर पिट्नुभएछ’, आमा गन्जला राजभरले भनिन् ।
छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेको बताएकी छन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
अभद्र व्यवहारमा अभिभावकले उजुरी दिने तयारी गरेका छन्, सोहीअनुरूप प्रहरी अगाडि बढ्ने आचार्यले बताए ।
विद्यालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले भने विभिन्न बहाना बनाई कारबाही प्रक्रिया अगाडि नबढाउन भन्दै दबाबसमेत दिएका थिए । यस विषयमा जिज्ञासा राख्दा प्रिन्सिपल यादवले अहिले आफू व्यस्त रहेकोले पछि कुरा गर्ने जवाफ दिएका छन् ।
सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरूले दोषी माथि कारबाहीको माग गरेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!