नवलपरासीबाट भागेका भनिएका व्यक्तिहरु मदिरा लिन गएको खुल्यो

Posted on: 15 May, 2020

जेठ २, बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले ती युवा भागेको नभई बजारबाट मगाएको मदिरा लिन गएको बताए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए ।

मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका रायले बताए । साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेको बताइएको छ । उनीहरु क्वारेन्टाइनबाट भागेको नभई १८–१९ वर्षका दुई/तीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरेका छन् । आइन्दा त्यस्तो नगर्न  भन्दै सम्झाईएको रायले बताए । 

क्वारेन्टाइनमा बसेका युवाहरुले कुन मदिरा कति परिमाणमा सेवन गरे भन्ने पत्ता नलागेको रायले बताए । उक्त क्वारेन्टाइनमा ४९ जना रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!