राप्रपा ओखलढुंगाको संयोजकमा सुवेदी

Posted on: 24 Apr, 2017

बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिको बैठकले सुवेदीलाई पार्टी संयोजकमा निर्विरोध चयन गरेको हो । यस अघि पार्टी एकता पछिको जिल्ला अधिवेशनबाट सुवेदी क्षेत्रीय अध्यक्ष बन्नु भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र गुरुङ केन्द्रिय कार्यसमितिमा गएसँगै सुुवेदीलाई ओखलढुंगा  जिल्ला संयोजक बनाईएको र निर्वाचन कमिटी संयोजकको जिम्मेवारी पनि सुवेदीलाई नै दिईएको राप्रपा ओखलढुंगाले जनाएको छ ।

स्थानीय निकाय निर्वाचन र पार्टीको आन्तरिक छलफलका लागि आयोजित अगुवा कार्यकर्ता भेला तथा जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनमा राप्रपालाई जित दिलाउने गरि अभियानात्मक रुपमा लाग्ने निर्णय पनि गरेको राप्रपा नेता रेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि उमेद्वार घोषणा नगरिए पनि सबै गाउँ तथा नगरपालिकामा उमेद्वार उठाउने विषयमा आन्तरिक छलफल भएको छ ।

यसैबिच नेपाली कांग्रेसका प्रभावशालि नेता सहितका युवाहरु राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्ष भएका मानेभञ्ज्याङ गाउपालिका स्थित केत्तुकेका नेता पर्वलाल तामाङ आज एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गर्नुभएको हो । तामाङ सहित कांग्रेस र अरु पार्टीबाट आज ७० जना भन्दा बढि राप्रपामा प्रवेश गरेको जिल्ला संयोजक सुवेदीले जानकारी दिनुभयो । प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिईने उहाँको भनाई छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!