बम्जन आश्रमबाट एक महात्मा गुरु पक्राउ

Posted on: 10 Jan, 2019

पुस २६, सिन्धुली | बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।


 

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताउनुभयो । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन । 

यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछ पछि स्थलगत अवलोकन गरेको थियो । 

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उहाँका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहनुभएकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए । 

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ । 

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरे पनि कुनै पनि जानकारी दिएको छैन । बम्जन आश्रममा पुग्नुभएका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताउनुभयो । “हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!