तिहारमा तेह्रथुमे ढाकाको व्यापार उच्च

Posted on: 27 Oct, 2016

प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना तथा ठुला उद्योग, कोशली घर र खुद्रा पसलहरुमा ढाकाको व्यापार  बढेको व्यवसायी बताउँछन् । 

सामान्य समयमा दैनिक हुने व्यापार भन्दा अहिले ढाकाको व्यापार ह्वात्तै बढेको र उत्पादनले समेत धान्ने अवस्था नरहेको पराजुली ढाका कपडा उद्योगका सन्चालक ढंग पराजुलीले बताए । तिहारमा चेलीहरुले माइतीकालागि उपहार दिने कपडामा यहाँका उद्योगहरुमा हाते मेसिनबाट बुनेर तयार पारिएका ढाका कपडाहरुको प्रयोग बढेको हो ।

 विशेषगरी ढाकाको टोपी, मफ्लर, चोली, पछ्यौरा, सारी, रुमाल लगायत सामानको माग उच्च रहेको व्यवसायी पराजुलीले बताए । तर माग बढेपनि दशैंपछि उद्योगको उत्पादन भने घटेकाले माग धान्न समस्या रहेको उद्योगीहरु बताउँछन् । 

धेरै उद्यमीहरु दशैं मनाउन गएपछि काममा नफर्किएकाले उत्पादन भने दशैं यता ठप्प रहेको छ । यहाँ उत्पादित ढाका पुर्वका धनकुटा, धरान, विराटनगर हुँदै काठमाडौंसम्मका बजारहरुबाट माग आउने गरेको छ । ढाका कपडामा जिल्लामा झण्डै पाँच हजारबढी उद्यमीहरु रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!