क्षेत्रीय खेलकूदकालागि तेह्रथुमको १ सय ७ सदस्यीय टोलीलाई विदाई, कुन खेलमा को–को खेल्दैछन् ?

Posted on: 03 Dec, 2016

प्रकाश धौलाकोटी/मङ्सिर १८, तेह्रथुम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि मंसिर २० गतेबाट पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुन लागेको क्षेत्रीय खेलकूद प्रतियोगिताकालागि तेह्रथुमका अफिसियलसहित १ सय ७ जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । 

विहीबार जिल्ला विकास समिति परिसरमा एक कार्यक्रमका बीच सो टोलीलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरुलाई तेह्रथुम लेखिएको जर्सी हस्तान्तरण गर्दै प्रतियोगितामा सफलताको कामनासहित विदाई गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपाली र पुर्वजिविस सभापति किशोरचन्द्र दुलाल लगायतले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिए । 

खेलकुद विकास समितिका अध्यक्ष केशव भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी तथा प्रशिक्षकहरुले जिल्लामा खेल क्षेत्रको विकासमा उल्लेख्य चासो नदिइएको भन्दै गुनासो गरेका थिए । प्रतियोगिताकालागि तेह्रथुम जिल्लाबाट एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, व्याडमिन्टन, टेवलटेनिस र चेस खेलमा गरी ८१ जना खेलाडी छानिएका छन् ।

 मंसिर २० देखि पुर्वान्चलका मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, पाँचथर, धनकुटा र ताप्लेजुङका विभिन्न ठाउँहरुमा हुने छनौट प्रतियोगिता मंसिर ३० गतेसम्म चल्नेछ । प्रतियोगिताकालागि जिल्ला खेलकूद विकास समितिको निर्णयबमोजिम अफिसियलसहित १ सय ७ जनाको टोली तयार भएको अध्यक्ष भट्राईले जानकारी दिए । 

प्रतियोगितामा पुर्वान्चल विकास क्षेत्रका १६ जिल्लाबाट उत्कृष्ट खेलाडीहरु छनौट हुनेछन् । लामो समयदेखि पुर्वान्चलका यीनै विभिन्न जिल्लाहरुमा हुने भनिएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता पटक–पटक मिति सारेर बल्ल पौष ७ गतेबाट हुने निश्चित भएको छ । 


कुन खेलमा को–को खेल्दैछन् ?

१. एथलेटिक्स

सुनसरीको इटहरी रंगशालामा २० गतेदेखि २३ गतेसम्म हुने एथलेटिक्स खेलहरुमा सहभागिताकालागि तेह्रथुमका पुरुषतर्फ ४ र महिलातर्फ ६ गरी १० खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ उमेश कन्दङवा, कुमार डाँगी, अगमबहादुर लिम्बु र संयोग गुरुङ छन् । महिलातर्फ टिका खवास, आशा राई, डिकमाया भुजेल, सिर्जना लिम्बु, मञ्जु पुरी र मञ्जु लिम्बु छानिएका छन् । एथलेटिक्स्को व्यवस्थापक खेविस कोषाध्यक्ष नरेन्द्र ईङनाम र प्रशिक्षक अनिल नेपाल छन् । 

२. व्याडमिन्टन

धनकुटामा मंंसिर २० गतेदेखि २३ गतेसम्म हुने व्याडमिन्टन क्षेत्रीय प्रतियोगितामा तेह्रथुममा पुरुषतर्फ ६ जना र महिलातर्फ ४ जना गरी १० जना खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ नविनकुमार लिम्बु, तेजबहादुर खड्का, शम्शेरबहादुर मगर, सोवितराज लिम्बु, नवीन सिलवाल र विवेक कन्दङवा छन् । महिलातर्फ लक्ष्मी तामाङ, राधा फोम्बो, अञ्जु तामाङ र लिना लिम्बु छानिएका छन् । खेलकालागि तेह्रथुम टिमको व्यवस्थापक सन्तोष ढुंगाना र प्रशिक्षक स्वयम् सिंजागु छन् । 

३. तेक्वान्दो

उदयपुरको कटारी गाईघाटमा मंसिर २७ देखि २९ गतेसम्म सन्चालन हुने क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा तेह्रथुमका ८ पुरुष र ७ महिला गरी १५ जना सहभागी हुनेछन् । जसमा शिशिर कन्दङवा, मिलन मिश्र, प्रदिप कन्दङवा, महान कन्दङवा, रोजन उप्रेती, रमेश तिवारी, निराजन सिलवाल र युवराज पौडेल तथा महिलातर्फ नेत्रमाया कन्दङवा, बसन्ती कन्दङवा, सुस्मिता लिम्बु, शारदा कन्दङवा, भगिरथटा भुषाल, जुनी कन्दङवा र बेनिजा शिवा सहभागी हुनेछन् । तेक्वान्दो खेलकालागि प्रशिक्षक सुरेन्द्र थपलिया र व्यवस्थापक निकास थपलिया छन् । 

४. कराँते

मोरङको विराटनगरमा रहेको कवर्डहलमा हुने कराँते खेलमा तेह्रथुमबाट पुरुषतर्फ ११ र महिलातर्फ १० गरी २१ जना खेलाडी छनौट भएका छन् । जसमा पुरुषतर्फ चन्द्रबहादुर धिमाल, युनिक आचार्य, प्रवेश कार्की, सुनिल थापा, रमेश चौहान, सलबहादुर तामाङ, रमेश बाग्दाश, राजकुमार राई, मनकुमार राई, निरज श्रेष्ठ र हरिबहादुर थापा छन् भने महिलातर्फ नविना पाहिम, श्रद्धा तामाङ, सेमिसा लिम्बु, आइसा खापुङ, बन्दना भण्डारी, श्रृष्टि ल्वागुन, निशा लिम्बु, आयुशा राई, अर्पणा भेटुवाल र सुमिना राई छनौट भएका छन् । कराँते खेलमा तेह्रथुमबाट व्यवस्थापक खेलकुद विकास समितिका सचिव श्यामहरि निरौला र प्रशिक्षक राजेन्द्र बराल छन् । 

५. भलिबल

भलिबल खेलको क्षेत्रीय प्रतियोगितामा तेह्रथुमबाट महिला र पुरुषगरी २० जना खेलाडी सहभागी हुन जाँदैछन् । २० मंसिर देखि २३ सम्म ताप्लेजुङमा हुने महिला भलिबलमा तेह्रथुमका गंगा तामाङ, जमुना तामाङ, विमला मगर, विनिता लिम्बु, सपना लिम्बु, भारती याक्खा, कमला मगर, इन्दिरा कार्की, सोनिया कुरुम्बाङ र श्रृजना लिम्बु सहभागी बन्दैछन् । 

झापाको सुरुङ्गामा २६ मंसिरदेखि ३० सम्म हुने पुरुष भलिबलमा तेह्रथुमबाट सुरेश खड्का, प्रताप खड्का, सन्दीप खड्का, भुपेन्द्र विक, होमबहादुर निरौला, कृष्णबहादुर स्याङवा, सन्तोषकुमार तामाङ, योगेन्द्र खवास, लक्ष्मीप्रसाद कार्की र कुमार बस्नेतको टिम सहभागी बन्नेछ । भलिबल खेलकालागि व्यवस्थापक खेलकुद विकास समितिका अध्यक्ष केशव भट्टराई र प्रशिक्षक टिकाराम खुलाल छन् । 

६. बुद्धिचाल (चेस)

मंसिर २५ देखि २८ सम्म फिदिम पाँचथरमा हुने बुद्धिचाल क्षेत्रीय प्रतियोगितामा तेह्रथुमका लक्ष्मीप्रसाद कन्दङवाले खेल्दैछन् । 

७. टेवल टेनिस

मंसिर २२ मंसिर देखि २३ गतेसम्म मोरङको विराटनगरमा हुने टेवल टेनिस क्षेत्रीय खेलकूद प्रतियोगितामा तेह्रथुमका चार जना खेलाडी सहभागी बन्नेछन् । जसमा पुरुषतर्फ मन्जिल कन्दङवा र उद्धिम उप्रेती तथा महिलातर्फ लक्ष्मी तामाङ र सुमित्रा तामाङ छन् । टेवलटेनिसको व्यवस्थापकको रुपमा खेविस सचिव श्यामहरि निरौला जाँदैछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!