दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

Posted on: 02 Jan, 2017
पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ ।

बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा निकै कम हुन्छ । झरनाको आसपासमा भएको पानी पनि स्थानीयवासीले अलैँची बगान तथा खेतबारी सिँचाइका लागि कुलोमा लगेका छन् । झरनाको शिरबाट सडक निर्माण भएपछि झरनामा पानी सुक्दै गएको स्थानीयवासी बताउँछन् । 

झरनाको करिब चार किलोमिटर माथिबाट म्याङलुङ–सक्रान्ति सडक निर्माण भएको छ । गतवर्ष झरनासम्म पुग्न सडक सुविधाका लागि ट्र्याक खोलिएको थियो । 

झरनासम्म पुग्न सकिने गोरेटो बाटोको समेत मर्मतसम्भार हुन सकेको छैन । झरना झरेको खोल्सीमा आधा मात्रै झरना देखिन्छ, बाँकी झाडी र रुख बुट्यानले छोपेको छ । झरनामाथिबाट सडक खनिएपछि सुक्दै गएको मुहानको समेत संरक्षण गरिएको छैन । 

पछिल्लो वर्ष स्थानीयवासीको मागबमोजिम जिल्ला विकास समितिको बजेटले झरना नियाल्न सकिने पुल निर्माण गरिएको छ । तर झरनामा पानी नै सुक्न थालेपछि हेर्न आउने आगन्तुक निराश भएर फर्कने गरेका छन् । 
प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारीस्तरबाट संरक्षण र प्रचारप्रसारमा ध्यान नहुँदा झरना ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ । 

तेह्रथुमका इसिवु र सम्दु गाविसको सीमा क्षेत्रमा अवस्थित ३६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम यो झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो । निजी तथा सरकारीस्तरबाट समेत कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको स्थानीयवासी नवीन चोङवाङले बताउनुभयो । 

प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिनजसो सप्तरङ्गी इन्द्रेणीको दृश्य देखिन्छ । मौसम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृष्य अझ मनोरम देखिने स्थानीय इसिबु उच्च माविका प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!