पुस २८, काठमाडौँ | वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरेको छ | विदेशबाट स्वदेश फर्किएकाहरुले नेपालमै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान पुर्याएका उद्यमीको कदर गर्न सम्मानका लागि आवेदन माग गरेको हो |
आगामी माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा आवेदन दर्ता गराउन वा स्क्यान गरी इमेल ठेगाना [email protected] मा पठाउन सकिने मन्त्रालयले जनाएको छ | 'विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को अनुसूची २ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ |
आवेदन दिनकालागि श्रमिक भिसामा विदेश गइ कम्तिमा पनि एक वर्ष काम गरि फर्किएको हुनुपर्ने छ |मन्त्रालयका अनुसार विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन पाउने छैनन् |
आवेदन संगै नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि पेश गर्नुपर्नेछ | यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ व ०७६/७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले बताएको छ |
आवेदनको फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिने छ भने थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१-४२००४७६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ |