वैशाख २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।
स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमले बताए । खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका गौतमले बताए ।
अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।