पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २१, धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।