असार १, काठमाडौँ | नेपाल प्रहरीको 'नक्कली डीएसपी' बनेर ठगी गरेको आरोपमा एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–६ का ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना (डा. एसके ढुंगाना) रहेका छन् ।
प्रहरीले उनलाई तारकेश्वरस्थित आफैले सञ्चालन गरेको भिक्टोरीया फार्मेसीबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार उनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् ।
पक्राउ ढुंगानाले आफुलाई मेडिकल डाइरेकटर (Dr.SK Dhungana )हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको समेत प्रहरीको अनुसान्धानबाट खुलेको जनाएको छ । प्रहरीले ढुंगानालाई पक्राउ गरी नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटाहरु तीनथान, प्रहरी नायब उपरीक्षकको यूनिफम एक थान, नेपाल प्रहरीको जर्सि एक थान र मोबाईल सेट एक थान बरामद गरेको छ ।
प्रहरीले ढुंगानाविरुद्ध ठगी उद्योग र आफूले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
