पढ्न करिब 2 मिनेट लाग्छ

लोकेन्द्र प्रशाद जोशी/साउन २४, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना राजनीतिक खिचातानी, भ्रष्टाचार, ठेकेदारको लापरबाही लगायत कारणले काम रोकिँदै र सुरु हुँदै आएपनि अब भने बिजुली बल्ने निश्चित भएको आयोजनाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले यही वर्ष मंसिर या पुसभित्र बिजुली बाल्ने गरी कामलाई तीव्रता दिएको छ । २०६३ पुसमा निर्माण सुरु भएको आयोजनाबाट २०७४ पुस अर्थात ठीक ११ वर्षपछि बिजुली बल्ने आस पलाएको हो ।
अहिले आयोजनाको करिब ९८ दशमलव ५ प्रतिशत बढी काम पूरा भएको छ । प्रारम्भिक काम र उपकरण परीक्षण (ड्राइ टेष्ट) को काम लगभग अन्तिम चरणमा रहेकोले नोभेम्बर अर्थात माघको अन्त्यतिर बिजुली बल्ने चमेलीया जलबिद्युत आयोजना प्रमुख अजयकुमार दाहालले बताउँनुभयो ।
असोजभित्र बत्ती बाल्ने योजना भएपनि सबै काम पूरा गर्न थप समय लाग्ने देखिएकाले माघ सम्ममा बिजुली उत्पादन सुरु हुने दाहालले बताउँनुभयो । भदौसम्म परीक्षणको सबै काम सम्पन्न हुने प्राधिकरणको भनाइ छ ।
आयोजना शुरु हुँदा साढे ८ अर्ब लागत लाग्ने अनुमान गरिएको चमेलिया जलविद्युत आयोजनाको लागत हाल बढेर साढे १५ अर्ब पुगेको छ । इन्जिनियरिङ अध्ययनले जलविद्युत आयोजनाको औसत लागत प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँ मान्छ । प्रसारण लाइनको लागतसमेत जोड्दा प्रतिमेगावाट करिब २८ करोड रुपैयाँ अनुमान गरिएको चमेलियाको लागत हालसम्म प्रतिमेगावाट करिब ५१ दशमल ५ करोड रुपैयाँ पुगेको प्राधिकरणकै दाबी छ । चमेलिया आयोजनामा सुरु लागतको करिब ८२ प्रतिशत बढी रुपैयाँ खर्च बढेको हो ।
अहिले मध्यदेखि सुदूरपश्चिम क्षेत्रमा टनकपुर ४० मेगावाटसहित भारतबाट करिब ५३.५ मेगावाट बिजुली आयात हुने गरेको छ । चमेलियाको बिजुली पनि थपिएपछि सुदूरपश्चिममा विद्युत कटौतीको समस्या अन्त्य हुने प्राधिकरणको दाबी छ ।
२०६९ मा आयोजनाको ८ सय ४३ मिटर सुरुङ खुम्चिदा आयोजनाको भबिष्यबारेमा अनेकखाले टिकाटिप्पणी सुरु भएका थिए । अहिले आएर खुम्चीएको सुरुङ निर्माण कार्य अन्तीम चरणमा पुगेसँगै विद्युत बल्ने पक्कापक्की भएको हो ।
आयोजनाको १३१ किमी राष्ट्रिय प्रसारण लाइन विस्तार कार्य असार मसान्तमै सक्ने भनिएपनि साउँन महिनाको अन्तीम सम्मपनि सम्पन्न हुन सकेको छैन । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक बिकटताका कारण बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा समयसंगै लागत खर्च बढेको आयोजना प्रमुख दाहाल बताउनुभयो ।
आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुवा गु्रप अफ पावर कम्पनि (सिजिजिसी) लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको आयोजना प्रमुख दाहालले बताउँनुभयो ।

