बागलुङमा सुन्तला उत्पादनमा कमी

Posted on: 09 Dec, 2023

मङ्सिर २३, बागलुङ | बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको छ । सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवालगायत क्षेत्रमा औँशा कीराको सङ्क्रमणले  सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो । बजेट अभावमा औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बागलुङमा सुन्तला उत्पादनमा कमी आएको खड्काले बताए । बोटमा नै कीरा लागेर भुइँमा सुन्तला झर्न थालेको उनको भनाइ थियो । 

“वार्षिक रू दुई लाखदेखि तीन लाखसम्मको आम्दानी सुन्तलाबाटै गर्दै आएको छु । बर्सेनि सुन्तलामा औँशाको सङ्क्रमण बढ्दै गइरहेको छ”, खड्काले भने, “बगानमा झरेकै सुन्तला नौ प्लाष्टिकका बोरा भइसके । रोग दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय सरकारले कुनै चासो दिएको छैन । बागलुङ नगरपालिकाले सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदानसमेत काट्यो ।”

पाक्ने बेलाका सुन्तलामा औँशा कीरा देखिएपछि बिक्री गर्ने तयारीमा जुटेका किसानलाई निराश बनाइदिएको छ । अहिले एउटा बोटबाट १० देखि २० प्रतिशतसम्म सुन्तला झरेको बताउँदै यो क्रम बर्सेनि बढ्दै आएको किसानको भनाइ छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन् । 

जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमामा औँशा कीरा समस्या दिनथालेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले बताए । उनका अनुसार सिगाना, बिहुँ र सकुर्वालगायत स्थानमा सुन्तला खेतीमा औँशाका सङ्क्रमण देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!