पढ्न करिब 2 मिनेट लाग्छ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ। संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डे र युवराज शर्मा आईसीसी सदस्यमा मनोनीत भएका छन् ।

तश्वीरमा: शर्मा (बायाँ), पाण्डे (दायाँ)
कतारमा करिब दुई दशकदेखि नेपाली समुदायको हकहित, सामाजिक सेवा र मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएका तुलसीराम पाण्डेको मनोनयनलाई प्रवासी नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ । सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर समुदायका लागि निरन्तर योगदान दिँदै आएका पाण्डे कतारमा परिचित सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्।
एनआरएनएमा सुरुदेखि नै सक्रिय रहेका पाण्डे केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए। संस्था एकतापछि विभिन्न साथी, अग्रज तथा एनआरएनए अभियन्ताहरूको आग्रहलाई स्वीकार गर्दै आफू पुनः संस्थामा फर्किएको उनले बताएका छन्।
“म संस्था, समाज र नेपालीका लागि केही गर्न फेरि फर्किएको हुँ। मेरो उद्देश्य पद ओगट्नु होइन, काम गर्नु हो,” पाण्डेले भने ।
उनका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई अझ एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रवासी नेपालीका हितमा काम गर्नुपर्ने आवश्यकता छ ।
यसअघि एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि पाण्डेले संस्थागत सुधार, समुदायबीच सहकार्य अभिवृद्धि तथा सामाजिक अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। समस्यामा परेका नेपालीलाई सहयोग, सामाजिक एकता र समुदायलाई जोड्ने विभिन्न अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ।
संघको पछिल्लो निर्णयअनुसार आईसीसीमा महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय परिषद्लाई पूर्णता दिइएको छ। पाण्डेको मनोनयनसँगै प्रवासी नेपालीको हकहित, एनआरएनएको संस्थागत सुदृढीकरण तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

