गाईभैँसी पाल्ने किसानलाई अनुदान

Posted on: 16 Oct, 2023

असोज २९, गुल्मी | गुल्मीको इस्मा गाउँपालिकाले किसानलाई व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ। पछिल्लो समय धेरै किसानले पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरूप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेको हो।

पालिकाभित्र पाँचभन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रूपमा रु. १० हजार अनुदान उपलब्ध गराउने निर्णय भएअनुसार अनुदान रकम वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिए। उनका अनुसार पालिकाले चालू आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक रु. १० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ।


उक्त फार्मले पाँचभन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए। उनका अनुसार अनुदान पाउनेमध्ये वडा नम्बर ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नम्बर १ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नम्बर ६ को घिमिरे कृषि तथा पशुपक्षी फार्ममा नौ र वडा नम्बर २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन्।

किसानलाई कृषि र पशुपालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन्। ‘यसरी व्यावसायिक रूपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मिहिनेत देखेर निकै खुसी लागेको छ,’ उनले भनिन्, ‘यसले इस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ।’

पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताए। पालिकाले गत आवमा ६ फार्मलाई अनुदान उपलब्ध गराएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!