दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

Posted on: 18 Jan, 2022

माघ ४, बनेपा | काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् ।

रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील बस्नेत–कामख्य–भगवती जेभीले निर्माण ठेक्का पाएको भवन निर्माणका लागि विसं २०७८ मङ्सिर २८ गते सम्झौता गरी आगामी २०८१ जेठ ३२ सम्पन्न गर्नुपर्नेछ । भवनको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सोमबार शिलान्यास गर्नुभएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले पछिल्लो समयमा प्रशासनिक भवन निर्माणस्थलसँगै अस्थायी टहरा बनाएर सेवा प्रवाह गर्दै आएको छ ।

यसैगरी उता डाँडापारिस्थित महाभारत गाउँपालिकाले पनि आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पालिका गठन भएपछि सामान्य टहरामा कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको महाभारत गाउँपालिकाले करिब दुई वर्षदेखि वडा नं ६ देवीटारमा अस्थायी भवन निर्माण गरी सेवा दिँदै आएको छ ।

पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ । पालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरी निर्माण अगाडि बढाउनुभएको हो । कूल रु छ करोड १० लाख ४३ हजारमा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०/८१ सम्ममा निर्माणसम्पन्न गर्ने गरी काम अगाडि बढेको अध्यक्ष जिम्बाले बताउनुभयो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!