पढ्न करिब 6 मिनेट लाग्छ

माघ २२, काठमाडौँ ।

श्रीमतीका प्रेमीले गाडीले ठोक्काइदिए

२७ कात्तिक २०७३ मा जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकानजिकै जनकपुर–ढल्केबर सडकखण्डमा गाडीले ठक्कर दिएको अवस्थमा शव बरामद भयो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातिको समयमा कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्यो । तर, थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो ।

वास्तवमा प्रेम र सम्पत्तिका कारण ठाकुरको हत्या भएको थियो । ठाकुरको शव पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि घरमै राखिएको अवस्थामा एक अपरिचित मृतककी श्रीमती नितु मिश्रलाई भेट्न पुगे । त्यसपछि प्रहरीले नयाँ ढंगले अनुसन्धान अघि बढायो ।

ठाकुर २६ कात्तिक दिउँसो घरबाट निस्केका थिए । त्यो दिन उनी घर आएनन् । नितुले भोलिपल्ट बिहान श्रीमान् घर नआएको आफन्तलाई जानकारी दिइन् । प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो । र, नियन्त्रणमा लिई सोधपुछ सुरु गर्यो । सोधपुछका क्रममा उनले छिमेकी जितेन्द्र चौधरीसँग प्रेमसम्बन्ध रहेको स्वीकार गरिन् । प्रहरीले जनकपुर–६ का ३० वर्षीय जितेन्द्र चौधरीलाई पनि पक्राउ गर्यो । त्यसपछि घटनाको वास्तविक रहस्य खुलेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

श्रीराम ठाकुर वैदेशिक रोजगारीमा गएको वेला जितेन्द्र र नितुबीच प्रेम बसेको थियो । ठाकुर फर्किएपछि आफूहरूको प्रेममा बाधक बनेकाले योजना बनाई हत्या गरेको जितेन्द्रले स्वीकार गरेका छन् । नितुले वेला–वेला आर्थिक सहयोग पनि गर्दै आएको उनले बयान दिएको प्रहरीले जनाएको छ । तर, श्रीराम विदेशबाट फर्केपछि आर्थिक सहयोगसमेत बन्द भएकाले हत्या गरेको जितेन्द्रले प्रहरीलाई बयान दिएका छन् ।

धनुषाको प्रको महुवा घर भई हाल जनकपुर–४ बस्ने २८ वर्षीय मनोज चौधरीलाई आर्थिक प्रलोभनमा पारी जितेन्द्रले हत्या गर्न लगाएका थिए । जिल्ला अदालतले जितेन्द्र चौधरी र मनोज चौधरी दुवैलाई पुर्पक्षका लागि जलेश्वरस्थित कारागार पठाएको छ । नितुलाई भने एक लाख धरौटीमा रिहा गरेको छ ।

छतबाट हाम फालेर आत्महत्या !

जनकपुरको बिसहारा चोकस्थित एक घरको छतबाट खसेर धनुषा भरतपुर–३ का २६ वर्षीय उमेश यादवको मृत्यु भयो । यादवको मृत्युको कारण पनि प्रेम नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना हुनुअघि यादव जनकपुरमा डेरा लिई बस्दै आएका थिए । सोही घरमा डेरामा बस्ने धनुषा रघुनाथपुरका चन्द्रदीप यादवकी श्रीमती रिंकुसँग उनको प्रेमसम्बन्ध भयो । चन्द्रदीप वैदेशिक रोजगारमा गएको वेला दुवैबीच प्रेमसम्बन्ध झाँगिएको थियो ।

श्रीमान् विदेशबाट घर फर्केपछि रिंकुले उमेशलाई बेवास्ता गर्न थालेकी थिइन् । त्यही झोकमा मदिराको नशामा उमेशले छतबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि चन्द्रदीप र रिंकु फरार रहेको प्रहरीले जनाएको छ ।

श्रीमान् र बच्चाको बिचल्ली

मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट फर्किए । २९ मंसिरसम्म फोनमा कुराकानी भइरहेकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते घरमा देखेनन् । उनी झस्किए अनि खोजी सुरु गरे । उनकी श्रीमती एक छोरा र एक छोरीलाई छाडेर प्रेमीसँग भागिसकेकी थिइन् ।

श्रीमान्ले वर्षौंदेखि कमाएर जम्मा गरेको पैसा लिएर संगीता परपुरुषसँग भागेकी थिइन् । उनी न्यायका लागि जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । संगीता तीन लाख रुपैयाँ लिएर भागेको मोहितलालको भनाइ छ ।

त्यस्तै, धनुषा दिगम्बरपुर–४ का शोभित महतो (नाम परिवर्तन) सात वर्षदेखि विदेशमा थिए । उनी केही समयअघि मात्र घर आए । उनकी श्रीमति पनि सबै सम्पत्ति पोको पारेर अर्कैसँग भागिन् ।

वैदेशिक रोजगारबाट गाँउमै किनेको १५ धुर घडेरी, आठ लाख रुपैयाँ र ६ तोला सुन गुमेपछि उनी बिलखबन्दमा परेका छन् । अर्कैसँग भागेकी श्रीमतीको खोजी गरेर धनसम्पत्ति फिर्ता गरिदिन उनले जिल्ला प्रहरीमा उजुरीसमेत दिएका छन् ।

३२ लाख लिएर प्रेमी बेपत्ता

जनकपुर–१ की ४० वर्षीया महिलाको २२ वर्षीय युवकसँग प्रेम भयो । श्रीमान् विदेशमा थिए । ती महिला छिमेकमै डेरा लिई बस्ने युवाको प्रेमजालमा परेकी थिइन् । बाहिर कतै जानुपरे ती युवकसँग जार्ने गर्थिन् । होटेल तथा लजमा सँगै बस्न समस्या हुने गरेकाले दुवैले काठमाडौंस्थित एक मन्दिरमा नक्कली बिहे गरे । त्यही बिहेको फोटोका आधारमा उनीहरूले केही महिना रोमान्स पनि गरे ।

विदेशमा रहेका श्रीमान्ले पठाउने गरेको पैसामा दुवैको खुब मोज थियो । पछिल्लोपटक छोरीको बिहेका लागि श्रीमान्ले पठाएको ३२ लाख रुपैयाँ ती युवकले लिएर फरार भएपछि महिला छाँगाबाट खसिन् । उनी यतिवेला बिचल्लीमा परेकी छिन् । उनलाई श्रीमान्ले पनि हेर्न छाडेका छन् । प्रेमीले पनि धोका दिएपछि ती महिला जनकपुर छाडेर अन्तै गएको प्रहरीले जनाएको छ ।

सुपारी दिएर श्रीमान्को हत्या

आफ्नै श्रीमान्को हत्यामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले महोत्तरी हतिसर्वा–८ की ज्योति मिश्रलाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले मिश्रसँगै धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गंगाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतलाई पक्राउ गरेको छ ।

२२ वर्षीया ज्योति मिश्रले वैदेशिक रोजगारबाट घर फर्केका २५ वर्षीय श्रीमान् अञ्जनीकुमार मिश्रको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । परपुरुषसँगको अनैतिक सम्बन्धका कारण पतिको हत्या गराएको अनुसन्धानबाट पत्ता लागेको महोत्तरीको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । उनले सुपारी दिएर आफ्ना श्रीमान्को हत्या गराएकी थिइन् ।

श्रीमान् खाडीमा, श्रीमती प्रेमीसँग डेरामा

श्रीमान् विदेशमा रहने र डेरा लिई जनकपुर वा कुनै सहरबजारमा बस्ने कतिपय महिलाले परपुरुषसँग प्रेमसम्बन्ध राख्ने गरेको प्रहरीको भनाइ छ । श्रीमान् विदेशबाट आएकै दिन डिभोर्स माग्ने महिला पनि आउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरी नायब निरीक्षक रामभगत भट्टराईले भने, ‘वैदेशिक रोजगारीले समाजमा विकृति बढाएको छ, नैतिकताको खडेरी गराएको छ, अधिकांश महिलाले आफन्त, छरछिमेकसँगै अनैतिक सम्बन्ध राख्ने गरेका छन्, सहरमा डेरा लिएर बस्ने महिलामा यो समस्या धेरै देखिएको छ ।’

यस सम्बन्धमा महिला तथा बालबालिका सेल अध्यक्ष सुभद्रा आलेले वैदेशिक रोजगारीले आर्थिक रूपमा सम्पन्न बनाए पनि समाजमा विकृति बढाएको बताइन् । ‘बिहे गरेको केही महिना पनि भएको हुँदैन, विदेश जान्छन्, त्यस्तोमा श्रीमान्–श्रीमतीबीचको प्रेम गहिरो हुन सक्दैन, श्रीमान्भन्दा परपुरुषको प्रेम गहिरो हुन जान्छ,’ उनले भनिन्, ‘प्रेममा परेका महिला अन्धा भई श्रीमान्को नै हत्या गर्नेसम्मका योजना बनाउन पछि पर्दैनन् ।’

यसमा बुहारीलाई घरमा सासू–ससुरालगायतले दिने मायाको कमी पनि कारण रहेको सेलकी पूर्वअध्यक्ष मीना केसीले बताइन् । विभिन्न बहानामा बुहारीलाई दुःख दिने तथा बुहारीका विषयमा विदेशमा रहेका छोरासँग राम्रो कुरा नगर्नेलगायतका कारण मानसिक तनावमा परी महिलाले परपुरुषसँग प्रेमसम्बन्ध बनाउन पुग्ने देखिएको उनको भनाइ छ ।

‘श्रीमान् विदेश गएको वेला बुहारीलाई कसैसँग बोल्न नदिने वा बोलेको खण्डमा विभिन्न लाञ्छना लगाउने गरिन्छ,’ उनले भनिन्, ‘केही नगरे पनि बदनाम र गरे पनि बदनाम, यस्तोमा गरेर नै बदनाम किन नहुने भन्ने मनसाय बनाउन पुग्छन् ।’ यस्ता घटना रोक्न श्रीमान्, श्रीमती तथा घरपरिवारकै व्यक्ति सचेत हुनु अत्यावश्यक रहेको उनको भनाइ छ । -नयाँ पत्रिका दैनिक