साउन ७, काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ ।

चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीले बताएका छन् ।

पहाडी जिल्लामा हुने वर्षाअनुसार कोसी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको नियन्त्रण कक्षका एक कर्मचारीले बताए । बिहीबार साँझ कुल ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको छ । आइतबार २३ ढोका खोलिएको थियो ।

टापुको गाविसको रूपमा रहेको सप्तरीको गोबरगाढावासी बाढीको उच्च जोखिममा छ ।

सप्तकोसी नदीको बीच भागमा अवस्थित यो गाविसमा कोसीको बाढी जुनसुकै वेला पस्ने भएकाले गोबरगाढावासी बाढीको त्रासमा छन् । ‘बाढीको त्रासले गाउँका ३० प्रतिशत मानिस आफन्तको घरमा गइसकेका छन्,’ स्थानीय हरि यादवले भने, ‘बाढीकै कारण कतिपयले योगिनियाँ, हनुमाननगर तथा भारदहमा अस्थायी घर बनाएका छन्, तर उब्जाउ हुने खेत यही भएको र गाई–भौसी चराउने पर्याप्त ठाउँ भएकाले आफूहरू जोखिम मोलेर पनि गाउँमै छौ । – नयाँ पत्रिका