पढ्न करिब 3 मिनेट लाग्छ

बैशाख २१, काठमाडौँ | घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको दुई दिनअघि निधन भयो । दुर्घटनापछि उनी लगातार अचेत थिए । चालक थापाको मृत्युलाई लिएर अहिले सामाजिक सञ्जालमा लामिछानेका विरोधीहरूले विभिन्न टीकाटिप्पणीहरू गरिरहेका छन् ।

एमालेका नेता महेश बस्नेतले समेत थुप्रै प्रश्नहरू उठाएका छन् । सामाजिक सञ्जालमा उनले एउटा अडियो क्लिप पनि सेयर गरेका छन्, जसमा सुनिने आवाज रवि लामिछानेका ड्राइभरको भएको दाबी गरिएको छ ।

यस अडिओका विषयमा हामीले घटनाको अनुसन्धान गरिरहेको चितवन प्रहरीसँग बुझ्न खोज्यौँ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले अडिओका विषयमा जानकारी नरहेको बताए ।

‘सामाजिक सञ्जालमा धेरै फेक कुराहरू पनि आउँछन् । त्यसको पछि लागेर साध्य हुँदैन । हामीलाई त्यस्तो कुनै खालको अडियो प्राप्त भएको छैन,’ उनले भने ।

दुर्घटना भए लगत्तै थापा अचेत भएका थिए । तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज लगेर उनलाई भेन्टिलेटरमा भर्ना गरिएको थियो । भोलिपल्ट उनलाई एयर लिफ्ट गरी काठमाडौं ल्याएर मेडिसिटीमा राखिएको थियो । १५ दिनसम्म निरन्तर कोमामा रहेपछि उनको निधन भएको हो ।

मेडिसिटी अस्पतालका अनुसार यस अवधिमा उनी निरन्तर अचेत वा कोमाको अवस्थामा थिए । कोमामा रहेका बिरामीले त्यसरी बोल्न सक्ने सम्भावना नै नहुने अस्पताल स्रोत बताउँछ ।

‘सार्वजनिक भएको अडिओको यथार्थ हामीलाई जानकारी भएन, यहाँ ल्याएदेखि उहाँको होस नै खुलेको छैन,’ अस्पताल स्रोतले भन्यो ।

चितवन प्रहरीले थापा घरको छतबाट कसरी खसे भन्नेबारे अनुसन्धान जारी राखेको छ । अढाई तल्ले घरको माथिल्लो तल्लामा रहेको कोठामा रास्वपा महामन्त्री डा. मुकुल ढकालका सवारी चालकसँगै थापा सुतेका थिए । उनीहरू दुवैले सुत्नुअघि मदिरा सेवन गरेको पुष्टि भएको छ ।

प्रहरीले घटना भएको दिन उनीसँग सुतेका डा। ढकालका चालकसहित केहीको पोलिग्राफसमेत लिएको छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले अहिलेसम्मको अनुसन्धानमा दुर्घटनाजस्तो देखिएको बताए ।

‘घरमै सेक्युरिटी गार्ड र नजिकै प्रहरी विट छ । थापाजी खस्नु भएको लगभग १५ सेकेन्डमै हामी त्यहाँ पुगेका छौँ’, एसपी कार्कीले भने । घटना भएको रात रवि र उनको परिवार अढाई तले घरको भुईँ तलामा सुतेका थिए । रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र उनको परिवार पहिलो तलामा रहेको प्रहरीले जनाएको छ ।

‘उहाँहरू अबेरसम्म मदिरा सेवन गरेर सुत्नु भएको रहेछ । कतै बेहोसीमा बाहिर निस्कँदा शरीर अनियन्त्रित भएर खस्नुभयो कि भन्ने आशंका गर्ने ठाउँ छ,’ एसपी कार्कीले भने ।

थापालाई नजिकबाट चिन्नेहरूले उनी कहिलेकाहीँ राती सुत्दा एउटा खाटमा र बिहान उठ्दा अर्कै खाटमा देखिने गरेको पनि बताएका छन् । प्रहरीले आवश्यक परे रवि लामिछाने र दीपक बोहराको पनि पोलिग्राफ लिइने तर अहिले त्यो अवस्था नदेखिएको जनाएको छ ।

प्रहरीले डा. मुकुल ढकालका चालकसँग भने तत्कालै सोधपुछ गरेको थियो । उनले आफूलाई घटनाका विषयमा पछि मात्रै थाहा भएको बताएका छन् । ती चालकको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म निदाइरहेको थिएँ, उठेर बाहिर निस्किएको थाहा पाइनँ ।’

उनको भनाइमा शंका गर्ने ठाउँ नभेटिएपछि प्रहरीले छाडेको थियो । घटनाको अनुसन्धान सकिन समय लाग्ने चितवन प्रहरीका प्रवक्ता पण्डितले बताए ।

‘हामी अनुसन्धानकै क्रममा छौं । अनुसन्धानको सबै प्रक्रिया पूरा भएर अन्तिम निष्कर्षमा पुग्न समय लाग्छ,’ उनले भने ।