पढ्न करिब 1 मिनेट लाग्छ

असार ७, काठमाडौँ | उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिका–९ मा नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै महानगरपालिकाको नगर प्रहरीले फेन्सिङ तार काटेको थियो । प्राधिकरणले ३२ जेठमा विमानस्थल क्षेत्रमा प्रवेश गरी नगर प्रहरीले फेन्सिङ तार काट्नु नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरीत रहेको र यो काममा मेयर बालेन शाहको पनि संलग्नता देखिएको भन्दै स्पष्टीकरण माग गरेको थियो ।

१ असारमा बालेन शाहलाई पत्र लेखी प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन को दफा ७ को कसुरमा किन कारबाही नगर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन बालेनलाई आग्रह गरेको थियो ।

तर बालेनले प्राधिकरणको उक्त स्पष्टीकरण पत्र कार्यान्वयन नगर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।